नियम ३२
संयुक्त समितिको गठन
(१) संविधानको धारा ९७ को उपधारा (२) बमोजिम संयुक्त समिति गठन गरियोस् भनी कुनै सदनमा प्रस्ताव प्रस्तुत गर्दा संविधान बमोजिम सो समितिका सदस्यको नामावली सहितको प्रस्ताव पेश गर्नु पर्नेछ । (२) उपनियम (१) बमोजिमको प्रस्ताव पारित भएपछि महासचिवले प्रस्तावको पूर्ण विवरण सहितको सन्देश अर्को सदन समक्ष पढेर सुनाउनेछ । (३) महासचिवले प्रस्ताव सहितको सन्देश सदनमा पढेर सुनाए पछि कुनै सदस्यले संयुक्त समितिका लागि सो सभाका सदस्यहरुको नाम प्रस्ताव गर्न सक्नेछ । (४) संयुक्त समितिमा प्रतिनिधि सभाको पाँच र राष्ट्रिय सभाको एक जनाको अनुपातमा बढीमा पच्चीस जना सदस्य रहनेछन् ।